पुनः पुनः यशोधरा!
नाट्यकर्मका गुरुको सल्लाहमा नाटकको पहिलो संसोधन
शीर्षक: पुनः पुनः यशोधरा
शैली: चिन्तनशील सम्झनाहरू
समय: ~ ७५ मिनेट जति?
पात्रहरू
यशोधरा – सिद्धार्थ गौतमकी पत्नी
रतनबाई पेटिट जिन्ना (रत्ति) – मोहम्मद अली जिन्नाकी पत्नी
कस्तुरबा कापाडीया गान्धी (बा) – मोहनदास गान्धीकी पत्नी
सुशीला शर्मा कोइराला (सुशी) - बीपी कोइरालाकी पत्नी
फजिलातुन नेसा हक मुजीब (रेणु) - शेख मुजीबुर रहमानकी पत्नी
छायाँ – समाज, इतिहास र स्मृतिको आवाज (दर्शकसँग प्रत्यक्ष सम्वाद गर्ने पात्र, अन्तिम दृश्य सम्म मंचमा उनि देखिँदैनन्, उनको छायाँ मात्र देखिन्छ )
प्रतिच्छाया — अन्तिम दृश्यमा छायाँ सँग तर्क गर्ने पात्र दर्शक दीर्घा बाट मंचमा उक्लिन्छ ।
———————————-
आमुख
मञ्च : अँध्यारो, शंखघोष
नेपथ्य बाट सूत्रधारको गम्भीर स्वर:
चिन्तक, विचारक, सर्जक, रचनाकार र आलोचकहरूकालागि यो कठिन कालखण्ड हो । भन्नलाई अभिव्यक्ति स्वतन्त्रतामा कुनै स्पष्ट बन्देज छैन् । तर विरोध, मुद्दा-मामिला र जातिवादीहरू द्वारा उनको कृति ‘माधुरोबागान’ जलाईए पछि एक प्रसिद्ध भारतिय लेखकलाई सन् २०१५ मा घोषणा गर्नु परेको थियो—“तमिल लेखक पेरुमल मुरुगन मऱ्यो, शिक्षक मुरुगन भने जिवित रहने छ ।” एकातिर बंगलादेशमा बस्न नसकेर बंगालादेशी लेखिका तसलीमा नसरीनलाई भारतमा शरण लिनु परेको छ भने अर्कोतिर भारत मैं पनि दाभोलकर, पंसारे, लंकेश र कलबुर्गी जस्ता व्यक्तिहरूको त हत्या नैं गरिएको हो । अमेरिकाको न्यूयोर्क जस्तो महानगरको सार्वजनिक कार्यक्रममा नामूद लेखक सलमान रुश्दीको ज्यान मार्ने गरि आक्रमण भएको थियो । एउटा आँखा जोगाउन नसकिए पनि तत्काल उपचार पाएकाले उनि पुन: लेखनमा फर्किन सकेका छन् । तनावमा रहेका व्यक्तिहरूको भावना आजभोली तुरून्तै आहत हुन्छ र ती तत्काल प्रतिशोधमा उत्रिन्छन् । त्यसैले आजको कलात्मक प्रस्तुती अगाडी यो रुखो व्याख्या सुनाउनु परेको हो ।
नाटकमा प्रयोग भएका नाम र तिथिमिति ऐतिहासिक भए पनि यसको कथा मूल पात्रहरूको अन्तरमनका संघर्षमा आधारित छ । दिवंगत पात्रहरू परिकल्पित लोकमा आ-आफ्ना बिर्सिएको विगतलाई सम्झँदै सम्बाद गर्छन् । भिन्न कालखण्डका व्यक्तिहरू आत्ममन्थन गरेको यो कथा नितान्त कल्पनाको उपज हो—एउटा परिकल्पित यथार्थ, इमैजिन्ड रियलिटी ! कथामा धार्मिकता छ, तर यो धर्म बारे होईन । राजनीति छ, तर प्रस्तुति राजनीतिक होईन । सामाजिकता त हुने नै भयो, तर सामाजिक टिप्पणी पनि होईन । प्रबुद्ध दर्शक आफ्नो सुविधा अनुसार अर्थ निकाल्न स्वतन्त्र छन् । कथाका सबै पात्र श्रद्धायोग्य छन् । तथापी भन्नै पर्ने कुरा भन्नु छ—कथा, संवाद वा प्रस्तुतीकरणका कारण कसैको धार्मिक, राजनीतिक वा सामाजिक भावनामा चोट पुग्यो भने हामी अहिले नै क्षमा याचना गर्दछौँ।
———————————
दृश्य १: पूर्वकथन
मञ्च: मधुरो प्रकाश, राग भैरबमा मधुर बाँसुरी धुन।
(चार नारी पात्र चार कुना बाट मञ्चमा प्रवेश गर्छन् । अन्तमा यशोधरा मंचको मध्यमा देखिन्छन् ।सबै पात्र दर्शक तिर फर्किएका छन् । एक अर्कालाई सोझै देख्दैनन्।)
यशोधराको पहिरनले उनको महारानी स्वरूपलाई देखाउछ—गरगहना लगाएकी । रतनबाई पश्चिमा पहिरनमा देखिन्छन्; टियर्ड ड्रेस, सेतो तुलिप हैट र कालो चश्मा समेत । कस्तुरबा रातो पट्टी भएको बुट्टेदार हरियो सारीमा, निधारमा रातो बिन्दी, हातमा चाँदीका बालाहरू बिच बिन्दी रंगकै गाढा रातो चुरा । सुशीलाले चौडा रातो पट्टी भएको ताँतको निलो साडी र रातो ब्लाउज लगाएकी छन् । रातो बिन्दी उनको निधारमा पनि छ । चुराको सट्टा हातमा बाक्लो लाहाका बालाहरू देख्न सकिन्छ । फजिलातुनको साडी हरियो रंगको बुट्टेदार बंगाली सिल्क, उनले टाउको छोपेकी छन् । निलो ब्लाउज र हातमा चाँदीको बाला ।
यशोधरा: (मञ्चको मध्यतिर आउँदै, दायाँ हात छातीमा)
त्यो रात… जब सिद्धार्थ गए…
म ओछ्यानमा थिए। मेरो हात नवजात राहुलको माथमा थियो। मेरो तन्द्रा थियो वा गहिरो निद्रा, मलाई सम्झना छैन् । सपना भने सम्झिन्छु । सेतो हात्तिमा सवार भएर राजकुमार सिद्धार्थ कतै जान लागेका छन् । उनि स्वर्णिम वस्त्रमा सज्जिएका छन् । कानमा स्फटिक कुण्डल छ । तर, आश्चर्य ! उनको लामो र कालो कपाल गायब भएको छ । सयनकक्ष भित्र समेत नछोड्ने उनको पाउपोस पनि छैन् । कतै बाट नगरा बजेको आबाज आउछ । कसैले शंख फुक्दैछ । अनि म उठ्छु । म त डराउनु पर्ने होईन ? तर अचम्भ, यो कस्तो शान्ति ! म हेर्छु, चारैतिर, निशब्द । म एक्लिए । जन्मिना साथ मेरो छोरा बाबुविनाको भयो ।
कतै बाट कसैले भन्यो—उनी सत्य खोज्न गएका हुन । भूईँ तिर हेर्छु, छत तिर नियाल्छु । कोही पनि देख्दिन । को बोल्यो ? किन बोल्यो ? सत्य ? कुन सत्य ? कस्तो सत्य ? कस्को सत्य ? मेरो सत्य के थियो होला ? कस्लाई सोध्ने होला ? अहिले पनि सम्झिदा म छक्क पर्छु—म किन हडबडाईन, किन चिच्याईन !
रतनबाई: (बायाँतर्फबाट प्रवेश, पुरानो पत्र हातमा)
म रतनबाई पेटिट, पारसी परिवारकी—
अंग्रेजी शिक्षा, स्वतन्त्र सोच ।
तर म जिन्नाको मोहपाशमा परें । दोष उनको होईन, मेरो हो । मैले नैं उनलाई मनपराएकी थिएँ । बडो आकर्षक व्यक्तित्व थियो उनको । सदैब सुट-बुटमा सज्जिएका हुन्थे । अदालतमा हरेक पटक बहस गर्न उभिँदा उनको टाई फरक हुन्थ्यो, एउटै टाई दोहऱ्याएर घाँटीमा बाँध्दैनथे अरे !
(पत्र माथि उठाउँदै), बडो सुन्दर लेख्थे उनि । जस्तो मिठो अंग्रेजी, उत्तिक्कै सुन्दर अक्षर ।
प्रेम गरे । प्रेमका लागि धर्मान्तर गरें । परिवार संग विद्रोह गरे ।
र भयो के? अन्तत: परिवार गुमाएँ, उनि संग टाढिएर जीवन समेत गुमाएँ । उनि गए आफ्नो सपनाको देशमा, मेरो घर छाडेर । जानु अगाडी मेरो चिहानमा बसेर रोएका थिए भन्छन् । कब्र लिएर जान सक्दैन थे क्यारे । गए उनि त, छाडेर हाम्रा स्मृतिका सबै चिन्हहरू । मेरा लागी बनाउन लगाईएको विशाल बंगला भन्थे । बम्बेमा अझै छ, हाम्रो प्रेमको निशानी । तर न मलाई घरबासको सुख भयो, न उनि पाकिस्तान बाट कहिल्यै फर्केर आउन सके, त्यस आलिशान भवनमा । भारत सरकारले खण्डहर भएको त्यस बंगलालाई जोगाउन सक्यो भने हाम्रो असफल प्रेमले एउटा स्मारक पाउने छ कि ? तर सरकार जहाँसुकैको होस्, मायापिर्ती भन्दा पनि नियमकानुन र रीतिरिवाजलाई बढी महत्व दिन्छ । म जन्मेको पारसी समुदाय मलाई बिर्सी सकेको छ । धर्मान्तर गरे पनि हिजब हाल्ने र नमाज पढ्ने मुसलमान कहिल्यै हुन सकिन । अनि बम्बेका मुसलमानहरूले मलाई सम्झि राख्ने कुरा पनि भएन । अनि म मरेको मात्र होईन, हराएको पनि हो—संसार बाट, सार्वजनिक स्मृति बाट ।
कस्तुरबा: (दायाँतर्फबाट प्रवेश, गान्धी टोपी हातमा)
यो टोपी ! चिन्ह थियो एउटा कालखण्डको । नारीले पनि भिर्थे यो टोपी ।
म त १३ वर्ष छँदै बिहे भयो । केही दिन पछि पढ्न भनेर पति बेलायत गए । म कसरी जान सक्थे र ! सात समुद्र पार ? घर सम्हाल्न जो सिक्नु थियो ! त्यसपछि उनि नाम र दाम कमाउन दक्षिण अफ्रिका गए । म फेरी बच्चाहरू संग एक्लै । के रे, के रे, बच्चाहरू संग कसरी एक्लै ? बयस लागेकी नारी रात परे पछि ओछ्यानमा पल्टेको सोच्न सक्नु हुन्छ ? कल्पना गर्नुस, एक्लोपनको परिभाषा पाउनु हुनेछ । जब घर सम्हाल्ने जिम्मा आयो, बापुलाई सघाउन दक्षिण अफ्रिका त गएँ; तर महत्वाकाँक्षी पुरूषलाई सहयात्री होईन, सहयोगी चाहिने रहेछ ।
हरेक आन्दोलनमा म उनि संगै थिएँ । अनि मेरो नाम? कस्तुर ? सुन्नु भएको छ, बास्नाको खोजमा भौंतारिदै गरेको मृग ? बडो कामोत्तेजक मानिन्छ कस्तुर ! हो, त्यही । म कस्तुरबाई माखनजी कपाडिया ! त्यपछि कस्तुरबा गान्धी । अनि अन्तत: ? (कटाक्षपूर्वक हाँस्दै) “बापुकी धर्मपत्नी”—बोलाउने नाम “बा”, बस बा !
सुशीला शर्मा (सुशी): (बायाँ तर्फ बाट नृत्य मुद्रामा प्रवेश, हातमा दीप, दियोलाई मंचको अगाडी तिर बिचमा राखेर पुन: देब्रे कुनामा उभिन्छिन)
कस्तुर दिज्यूको बिहे त १३ वर्षमा भयो रे । म त कति वर्षको हुँदा बिहे भयो, कसैलाई यकिन छैन । माईतिकाले भन्छन्, म भर्खर १० लागेकी थिएँ । सासु मुमा भन्नु हुन्थ्यो, म सायद १२ भई सकेकी थिएँ । मलाई सम्झना के मात्र छ भने म केटाकेटी नैं थिएँ । पढ्न पुगेको छैन जस्तो लाग्थ्यो । सितार बजाउन सिक्ने रहर थियो । नाँच्न मन पर्थ्यो । बुहारी भए बिद्रोही परिवार की । प्रजातन्त्रको अग्रणी परिवार भनिन्थ्यो विराटनगरका कोइरालाहरूलाई—‘फर्स्ट फैमिली अफ डेमोक्रैसी’ अरे । त्यस्तो परिवारका कथा-व्यथा कमैलाई थाहा हुँदो रहेछ । मेरा पति राजनीतिकर्मी हुनुकासाथै साहित्यकार पनि थिए, त्यसैले उनले आफ्ना व्यथाहरूलाई पनि फगत कथा बनाई दिएका छन् । आफ्नो ‘फेरि सुन्दरीजल’ भन्ने डायरीमा १० जनवरी १९७७ का दिन उनि लेख्छन्, ‘अहिले म ६२ वर्षको भएँ, यसमध्ये १९ वर्ष काठमाडौंमा बिताएँ भने चार वर्ष विराटनगरमा (अर्थात् नेपालमा २३ वर्ष), दुई वर्ष चन्द्रगञ्ज (हालको सिरहा, माडर)मा (अर्थात् नेपालमा २५ वर्ष), बनारसमा १९ वर्ष, पटनामा आठ वर्ष, टेढीमा पाँच वर्ष, कलकत्तामा तीन वर्ष, हजारीबागमा दुई वर्ष, दार्जीलिङमा एक वर्ष गरी भारतमा ३८ वर्ष बिताएँ। काम र क्रियाकलापको आधारमा हेर्दा पढाइमा १७ वर्ष, जेलमा १२ वर्ष, निर्वासनमा २० वर्ष, सरकारमा दुई वर्ष बिताएँ। भारत र नेपालमा गरी करीब २६ वर्ष सक्रिय राजनीतिमा बिताएँ।’ यो लेखाजोखा भित्र पत्नि र परिवार कहाँ छ ? कस्तुर दिज्यू त थुनामा पनि कहिलेकाँही बापू संग पर्नु हुन्थ्यो । मेरोलागि त कुर्नु र नियमित काम गर्नुको विकल्प थिएन ।
फजिलातुन नेसा हक मुजीब (रेणु): दायाँ तर्फ बाट मंचमा प्रवेश । हातमा लिएर आएको सेतो फुलको गुच्छा दियो नजिक राखेर पुन: कुना मैं फर्किन्छन् ।
पतिले लामो जेल जीवन बिताउँदा एक्लोपनको पीडा र परिवारको जिम्मेवारीको निर्वाह गर्ने दोहरो बोझ ! सायद मेरो भोगाई सुशीला दिदी सँग कता कता मेल खाँदो रहेछ । मेरो विवाह पनि बच्चैमा भएको हो । सायद म ८ वर्ष की हुँदो हुँ । शेख साहब १८ वर्षका लक्का जवान थिए । विहे पछि भनि पढ्न कलकत्ता तिर लागे । उ बेला कलकत्तालाई बेलायती सम्राज्यमा लण्डन पछिको दोश्रो सहर भनिन्थ्यो । जाने रहर त मलाई पनि थियो, तर मलाई घर मैं बसेर पढ्नु थियो । मुसलमान परिवारमा केटीहरूलाई स्कूल पठाउने चलन थिएन ।मौलाना आउथे, अरबी र उर्दु पढाउँथे । गुरूको काम बंगाली र गणित सिकाउने हुन्थ्यो । अंग्रेजी साहित्य र आधुनिक शिष्टाचार सिकाउन एकजना गोरी मिस आउँथिन । त्यस्तो तैयारी नहुँदो हो त म कसरी घर सम्हाल्न सक्थे होला । वीपी जस्तै शेख साहबले पनि छात्र जीवन देखि नै राजनीतिमा होमी सकेका थिए । कुनबेला उनि जेल जान्थे र कुनबेला उनलाई छोडिन्थ्यो, पत्तै हुदैन्थ्यो ।
छायाँ बोल्छ :
पाँच नारी, पाँच कालखण्ड । उस्तै धैर्य, क्षमा र निशब्दता । करुणा र मैत्रीमा अटल विश्वास । एउटै मौन पीडा । के महान पुरुषहरूको महानता पछाडीको मौनतालाई कसैले कहिल्यै सुन्ने प्रयत्न गरेको छ ?
दृश्य २: परिचय
मञ्च : झिसमिसे उज्यालो, बाँसुरीमा राग अहिर भैरबको मधुर धुन ।
यशोधरा, कस्तुरबा र रतनबाई एकअर्कालाई गहिरिएर हेर्छन् । हातले छुन्छन् । सुशीला र फजिला मुखामुख गर्छन् ।
यशोधराले कस्तुरबाको दुबै हात समात्छन् : भन त, तिमी म हौ कि म तिमि हुँ ? म त अलमलिए ।
कस्तुरबा रतनबाई तिर फर्केर : होईन, हामी त फरक थियौं पृथ्वीमा, दुरुस्त उस्ताउस्तै कसरी हुन पुग्यौं ?
रतनबाई यशोधरालाई देखाउँदै : दिदी हुन अर्हत्—राग, द्वेष, मोह बाट मुक्त र अनाशक्त । सिद्ध व्यक्ति । उनलाई सोध्नोस न । म त के नैं भन्न सक्छु र !
सुशीला र फजिला समवेत स्वरमा: हो हामी कसरी एउटै अनुहारका भयो यशो दी? यी अनुहार हुन कि मुखौटा ?
यशोधरा: पृथ्वी तिर आजभोली ‘सिस्टरहुड’ भन्छन् क्या रे—बहिनपा, अर्थात नारीहरू बिच निकटता, तादात्म्य र स्वभाविक सम्बन्धको अवस्था । हामी एकछिन आ-आफ्नो कथा सुनाउँ । आफै खुल्दै जानेछ सदृश्यताको रहस्य । अरूले भनेनन हाम्रा भोगाई, हामी आफै त आफ्नो कथा सुनाउन सक्छौं नि ।
रतनबाई : पृथ्वीमा सबभन्दा कम समय बिताएको मैले नैं हो । मेरो कथा पहिला ।
कस्तुरबा : हुन्छ, रत्ति बहिनी । तिम्रो जीवन छोटो, तर साह्रै उतारचढाव । रंगिन पनि उस्तै । फेरी प्रेम कथा कस्लाई मन पर्दैन, त्यसमा पनि वियोगान्त ! भन्छन् नी—पुरूषहरू प्रेममा छँदा वसन्त हुन्छन्, बिहे पछि शीत ऋतु । तिमीले आफ्नो जिन्दगीमा के मात्र भोगेनौं—वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर—तर चक्र फर्किएर तिम्रो जीवनमा फेरि वसन्त आएन है रत्ति । (अँगालो हाल्छन् रत्तिलाई) ।
यशोधरा : कुनै पनि जीवन सपाट हुँदैन, कस्तुर ! तिमीले पनि त के मात्रै देखेनौँ । १३ वर्षमा बिहे भयो, १७ वर्ष की हुँदा पहिलो बच्चा गुमायौ र तिमी ३७ वर्ष नपुग्दै तिम्रा पतिले तिमि संग एक शब्द नसोधी ब्रह्मचर्यको व्रत लिए । वयस्क वयमा काम-विहिन पति-पत्नी सम्बन्ध ! पतिलाई महात्मा बनाउन पत्नीले गर्नु परेको त्याग र समर्पणको कथा कसैले लेख्दैनन् र पो । (यशोधराले कस्तुरबाको टाउको सुमसुम्याउछिन ।
रतनबाई : यशो दिज्यु, समर्पण र त्याग तपाईँको पनि कम कहाँ थियो र ! नवजात शिशु र सुत्केरी पत्निलाई छाडेर पति ज्ञानको खोजीमा चुपचाप बाहिरिए । बच्चा हुर्काउने देखि लिएर राजकाज सम्हाल्नु भयो । कथा त तपाईँको पनि सुन्नै पर्ने होला ! (यशोधरा र कस्तुरबाको संयुक्त काँधमा रत्तिको काँध पनि जोडिन्छ ।
कस्तुरबा: हो त ! राजकुमार सिद्धार्थ १२ वर्ष पछि बुद्ध भएर फर्किए पछि कस्तो लाग्यो होला तपाईँलाई ? कपिलवस्तुको युवराजले गद्दीत्याग गरेर सन्यासी भई सकेकाले हजुरबुबा पछिको शासनाधिकार र आफ्नो उत्तराधिकार दावी गर्न राहुललाई पठाउनु भयो । “राजमुकुट र खरखजाना त अनित्य हो, म तिमीलाई परमसत्य संग साक्षात्कार गराउँछु, कहिले नमेटिने निधि प्रदान गर्दछु !” भन्दै तथागतले आफ्नो एकमात्र छोरोको हातमा सन्यासी वस्त्र र भिक्षापात्र थमाउदा तपाईँ हल्लिनु भएन ?एउटी आमा सँग उसको एकमात्र सन्तान खोस्ने काम कसरी बुद्धत्व हुन सक्छ ? तर तपाईँ आफै पनि त आफु सँग खोसिनु भएको थियो—कपाल खौरेर बुद्धका अगाडी जिद्दी कसेपछि उनलाई आफ्नो नारीलाई सन्यासी नबनाउने नियम तोड्नु परेको थियो । तपाईँको कथाका विभिन्न विवरणहरू छन् । तपाईँ आफ्नो पक्ष सुनाउनुस दिज्यू ।
सुशीला : कथा त हामी मध्ये सबै भन्दा कान्छी रेणु—म त रेणु नैं भन्छु, हुन्न फजिला बहिनि—को पनि कम मार्मिक कहाँ छ र ? बच्चैमा आमा गुमाएकी । पछि बुहारी बन्ने घरमा हुनेबाला सासु द्वारा पालन पोषण । पति कति बेला जेलमा जाकिने हुन थाहा छैन् । पाँच जना केटाकेटीलाई झण्डै एकल अभिभावक भएर सम्हाल्नु छ । एकै दिन आफ्ना पति, तिन छोरा र दुई बुहारी सँगै आफ्नै घर भित्रै मारिनु पर्ने नियति । र मारिए पछि पनि ‘नमाजे जनाजा’ बेगर एउटा अनाम सामूहिक कब्रमा दफनाईनु ! वीपीले मलाई यिनको कथा सुनाउँदा हामी दुई आफ्ना सबै दु:ख बिर्सेर आफसे आफ भक्कानिन्थ्यौं ।
फजिला : रेणु नैं भन्नुस् सुशीला दिज्यु । केटाकेटी हुँदाको नाम, अहिले पनि आफ्नै परिवारले बोलाएको जस्तो लाग्छ । तर सुशीला दिज्यूको कथा पनि कम मर्मस्पर्शी छैन् । एक्लो अभिभावक त उनि पनि थिईन । वीपी अन्तर्राष्ट्रीय समाजवादी भई गए । कतिले सम्झन्छन् सुशीला दिज्यूले घर सम्हालन आफ्ना सबै रहरहरू परित्याग गरेको कुरा ? उनि भरतनाट्यम वा कत्थक नृत्यांगना हुन सक्थिन । सिमित भईन पत्नी, आमा र हजुर आमाको भूमिकामा । हुन त उनको नतिनिमा दिज्यूको केही अंश देख्न सकिन्छ, धानमण्डी हत्याकांडबाट जोगिएका मेरा छोरीहरूमा मैले शेख साहबलाई देखे झैं ।
छायाँ बोल्छ : हो, सबै कथाहरू प्रत्येक कथन पछि रूपान्तरित हुँदै जान्छ । के जीन्नाको साम्प्रदायिक राजनीति देखेर वाक्क भएकी रत्ति आफ्नो आस्था र स्वतन्त्रतालाई प्रेम भन्दा ठुलो ठहऱ्याईन ? के कस्तुरबा आफ्नो पतिलाई देशहितकालागि समर्पण गरिन ? के राहुल अन्तिम बन्धन थियो जस बाट बुद्धलाई मुक्त गर्ने क्षमता केवल र केवल यशोधरा सँग थियो ? के सुशीलाले सुशील नारी हुनुमा सन्तुष्टी खोजिन ? के पति संग मारिनु तर छुट्टै सामूहिक चिहानमा गाडिनु फजिलाको नियति थियो? उत्तर खोज्न तिर लाग्नु भयो भने तपाईँहरू सबैले आ-आफ्नै किसिमका कथा, व्यथा र व्याख्याहरू भेट्टाउनु हुनेछ ।
दृश्य ३ : पहिचान
मञ्च : सूर्योदयको पहिलो किरण जस्तो सुनौलो प्रकाश, बाँसुरीको धुन, राग ललित ।
दर्शक तिर फर्किएर पात्रहरू अर्धगोलाकारमा चकटीमा बसेका छन् । बिचमा यशोधरा, उनको देब्रे तिर फजिला एवं रत्तनबाई र दाहिने तिर कस्तुरबा तथा सुशीला ।
फजिला : यशो दिज्यू, ‘पूर्व बाट सुरु’ भन्छन् ! म पहिला हुने भएँ । म फजिलातुन्नेसा हक । घरमा बोलाउने नाम रेणु । विहे पछि त मुजीब थपिएर फजिलातुन्नेसा हक मुजीब । तर बाल्यकालमा सबैले माया गरेर रेणु भन्थे । अहिलेपनि मलाई त्यही नाम प्रिय लाग्छ । अर्थ पनि कति राम्रो—धूलोको कण जे म भएँ, वा फूलको पराग, जे म थिएँ । सन् १९३० अगस्ट ८ मा म बंगालमा गोपालगञ्जको सानो गाउँ तुंगीपारामा जन्मेकी थिएँ—त्यो समयमा संसार ठूलो थिएन, तर सपना भने अथाह थिए।
बुबा, शेख जहुरुल हक, म तीन वर्षकै हुँदा बित्नुभयो। आमा, होस्नेआरा बेगम पनि केही वर्षमै परलोक हुनु भयो। त्यसपछि म अनाथ भएँ—तर मातृत्व पुनः पाएँ—शेख सायरा खातून, अर्थात् भविष्यका जीवनसाथी शेख मुजीबुर रहमानकी आमा, जसले मलाई आफ्नै छोरीझैँ माया गर्नुभयो।
त्यो घरमा मैले अक्षर चिनेँ, जीवन चिनेँ। घरमै शिक्षक राखिन्थ्यो – गणित, बंगाली, अंग्रेजी, र अरबी संगै शिष्टाचार र धार्मिक अभ्यास सिकाइन्थ्यो। मेरो अक्षरप्रेम भने कहिल्यै रोकिएन। म पत्रपत्रिका पढ्थें—देश, प्रवासी, लाईफ र रिडर्स डाईजेष्ट । घरको काम सक्याएर म सधैं एउटा टोकरीमा राखिएका पत्रपत्रिकाहरू झिकेर पल्टाउँथे । त्यो मेरो बाहिरी संसार बुझ्ने माध्यम थियो ।
सुशीला : विहेको कुरा सुनाउ न रेणु बहिनि । मुजिब त देख्दा सुन्दर, बोली उस्तै प्रभवशाली ।
फजिला, लजाउँदै : त्यो त के बुझ्थे र म, ८ वर्षको उमेरमा । निकाह पढाईयो । उनि इस्लामिया कलेज कलकत्ता पढ्न जाने भए । जाने बेलामा राम्ररी पढ्नुस् है, भनेको सम्झिन्छु । सम्झना भने बंगालको अकालको छ । अक्टुबर, सन् १९४२मा बंगालमा सबभन्दा धेरै धान उब्जने मिदनापुरमा चक्रवातले बालीनाली ध्वस्त बनायो । द्वितिय विश्वयुद्धले गर्दा बेलायतले बर्मा बाट सस्तो चामल आयातमा रोक लगाएको थियो । सन् १९४३ को बंगालको महाअकालमा सडक तिर माँग्नेहरूको ताँती देखिन्थ्यो । म कसैकसैलाई एक कचौरा भात दिन्थे । तर भात त कस्ले देला र भनेर होला, निवस्त्र नारीहरू काँखमा बच्चा च्यापेर ‘भातेर माड’ माँग्दै हिड्थे । झण्डै ३० देखि ४० लाख मारिएको बंगाल महाअकालले शेख साहबलाई बेलायती सम्राज्यवादको विरोधमा उभ्यायो । कसैकसैले भन्छन् कि ढाकामा मुहम्मद अली जिन्नाले २१ मार्च १९४८ को आफ्नो भाषणमा ‘उर्दू र उर्दू मात्र पाकिस्तानको राज्य भाषा हुनेछ’ घोषणा गरे पछि मात्र शेख साहब प्रतिरोधको राजनीतिमा उत्रिए । त्यसो होईन । भारतको स्वतन्त्रता आन्दोलन देखि पाकिस्तान निर्माणमा उनको भूमिका छ । बंगलादेशका त उनि निर्माता नैं हुन ।
रतनबाई : ल अब म सुरु गर्छु, है त यशो दिज्यू । तर सुरु पो कहाँ बाट गर्ने होला ! म रतनबाई पेटिट । बम्बेको पारसी समुदायका प्रसिद्ध उद्योगपति सर दिनशा मानेकजी पेटिटकी नातिनी । कपासका प्रतिष्ठित कारोबारी सर दिनशा पेटिट र उनकी श्रीमती लेडी दिनाबाई पेटिटकी एक्ली छोरी । मेरो जन्म २० फेब्रुअरी १९०० मा ब्रिटिश भारतको बम्बे प्रेसिडेन्सीको बम्बे महानगरमा भएको थियो । अँग्रेजीमा भन्छन् नि, मुखमा चाँदीको चम्चा लिएर जन्मिनु । मेरो मुखमा त सुन कै चम्चा थियो कि क्या हो । सम्पन्न, तर सचेत र उदार परिवार थियो । घरमा भारतको स्वतन्त्रता आन्दोलनका दादाभाई नौरोजी, फिरोजशाह मेहता, मैडम भीकाजी कामा, बदरूद्दीन तैयबजी, गोपाल कृष्ण गोखले, ऐनी बेसेन्ट, सरोजनी नायडू, मुहम्मद अली जिन्ना र अतिया फैजी जस्ता महारथीहरू आई रहन्थे । म तिनका कुरा बडो मनोयोगले सुन्ने गर्थे । राजनीतिमा रुची बढेको त्यसैले होला ।
कस्तुरबा : हो, मुहम्मद अली जिन्ना ! उनको कथा सुन्न हामी आतुर छौं !
रतनबाई : खोजा मुसलमान समुदायका समृद्ध व्यापारी जिन्नाभई पूँजा र मिठ्ठीबाईका छोरा थिए मेरा प्रिय जीन्ना । बेलायत पढेका । असाध्यै गम्भिर प्रकृतिका थिए उनि । साह्रै अध्यनशील । उनको मौनता पनि मुखर जस्तो लाग्थ्यो मलाई त । उनि मेरा पिताजीका वकिल थिए, र मित्र पनि । औपचारिक कानुनी सल्लाह वा राजनीतिक बैठक सकिए पछि संगै बसेर खानपीन गर्थे । मलाई तिनका कुरा सुनु सुनु लाग्दथ्यो ।
अहिले सम्झिदा मलाई लाग्छ, हाम्रो प्रेम दार्जिलिङमा छुट्टी मनाउन गएको बेला हुनु पर्दछ । उनको सौम्य स्वभाव र शिष्ट व्यवहार । परिपक्व उमेर । कानुनको ज्ञान र पेशागत सफलता । भारतको स्वतन्त्रता प्रतिको दृढ प्रतिबद्धता । कुनचाँही अल्लारे केटी प्रभावित नभई रहन सक्ला र ! म त लठ्ठिएकी थिएँ । म उनलाई साँच्चिकै माया गर्न थालिसकेको थिएँ । म उनलाई ‘माई डार्लिंग जे’ भन्न थाले । ‘जे’ फर जिन्ना के त । उनि मलाई कुनी किन हो, रत्ति नभनेर रुट्टी भन्थे । कामोन्मादीकालागि संस्कृतको ‘रति:’ जस्तै अंग्रेजीमा पनि कहिलेकाहीँ ‘रट’ शब्द प्रयोग हुन्छ नि त । त्यसैले पो रट्टी भनेका हुन कि ? अंग्रेजीबाज थिए नि त । पढेको त मैले पनि अंग्रेजी नैं हो, तर त्यस्तो तर्क मैले पछि मात्र थाहा पाएकि हुँ ।
यशोधरा : प्रेम बाट विवाहको यात्रा त कठिन थियो होला है रत्ति ?
रतनबाई : सजिलो त के हुन्थ्यो । म वयस्क नभए सम्म कुरेर बसे, यद्यपी हामी मोटरमा सँगै घुम्थ्यौं । विवाह गर्ने निर्णय नितान्त मेरो थियो । मेरा प्रिय ‘जे’ले त फगत सहमति जनाएका थिए ।मेरो परिवारले हाम्रो सम्बन्धको कडा विरोध गर्यो, किनभने उनि म भन्दा २४ वर्ष जेठा थिए । धर्म मिल्दैन्थ्यो—म पारसी परिवार की, उनि मुसलमान । हाम्रो सँस्कार पनि फरक थियो । तर न म पक्का पारसी थिए, न मेरा प्रिय ‘जे’ कट्टर मुसलमान नैं । उनि खाने र पिउने कुरामा इस्लामको बन्देज मान्दैनथे । उसै पनि त, हिन्दीमा भन्छन नी—“प्रीत न जाने जात कुजात, नींद न जाने टूटी खाट । भूख न जाने बासी भात, प्यास न जाने धोबी घाट !”
सन् १९१८मा मेरो उमेर १८ वर्ष पुग्ने बित्तिकै मैले इस्लाम धर्म अपनाएँ, मुसलमान नाम मरियम अंगिकार गरें र मेरा प्रिय ‘जे’ संग वैवाहिक बन्धनमा बाँधिए । हाम्रो विवाह समारोह सानो थियो, धेरैजसो परिवारका सदस्यहरू बोलाईएका पनि थिएनन । मेरा प्रिय ‘जे’को परिवारकालागि म काफिर्नी थिएँ, मेरो परिवारकालागि धर्मत्यागि ! तर म खुशी थिएँ, किनभने मैले रूचाएको व्यक्तिसँग प्रेमविवाह गरेकी थिएँ । मेरा पिता सर दिनशा पेटिट अखबारमा हाम्रो बिहेको खबर पढेर जंगिएका थिए रे—अखबार च्यातेर फालेका थिए !
कस्तुरबा : त्यस पछि स्वतन्त्र ? कस्तो हुने रहेछ प्रेम विवाह पछिको समय? आफु त पूर्वनिश्चित बालविवाहको भुक्तभोगी परियो !
रतनबाई : सुरुका केही दिन बडो उत्तेजक र रोमांचक हुने रहेछ, कस्तुर दिज्यू ! हामी हनिमुनकालागि नैनिताल गएका थियौं । दार्जिलिंगमा प्रेम, नैनितालमा मधुमास—हाम्रो मिलन त्यस बेला हिमाल जत्तिकै अटल र निर्मल लाग्दथ्यो । बम्बे फर्के पछि मेरो जीवनले नयाँ मोड लियो। त्यस बखत उनि मुस्लिम लिगका नेता बन्नै लागेका थिए, र केही महिना भित्रै सन् १९१९ मा उनि अध्यक्ष भए । म उनि सँगसँगै थुप्रै सार्वजनिक सभामा जान्थे । म जहिल्यै आफू जस्तै रहेँ — मैले विवाहपछि पनि आफ्नो पहिरन र जीवनशैली त्यागिनँ । म पश्चिमी लुगा लगाउँथेँ, जसले कहिलेकाहीँ ती राजनैतिक भेलाहरूमा हल्का विवाद ल्याउँथ्यो । तर मलाई लाग्थ्यो, म केवल ‘जे’ की पत्नी हैन, एक स्वतन्त्र सोच भएकी महिला पनि हुँ । राजनीति मेरो लागि नौलो थियो, तर उनिसँग हिँड्दा, म त्यसको हिस्सा महसुस गर्थेँ । यिनै दिनहरूमा म आमा पनि बनेँ — अगस्त, सन् २०१९मा—जब हाम्री छोरी दीना यस संसारमा आइन । त्यो मेरो जीवनको सबैभन्दा सुन्दर तर संगै जटिल समय थियो । मेरा प्रिय ‘जे’को प्राथमिकतामा राजनीति माथी उक्लिएर परिवार दोयम भई सकेको थियो ।
हो राजनीतिले मेरा प्रिय ‘जे’लाई म सँग खोसेको हो । म चाहन्थे उनि बेलुका घर फर्किउन । हामी सुमधुर संगितको धूनमा डिनर गरौं । क्लब गएर नाँचौं । उनि भने सपनामा पनि भारतीय मुसलमानको भविष्य भन्दा बढी केही देख्दै न थे । तिनकालागि पाकिस्तान बनाउनु उनको नयाँ प्रेम बन्न पुगेको थियो ।
यशोधरा : अँ, रत्ति बहिनीको छोटो जीवनको लामो कथा ! अब कस्तुरको कुरा पनि सुनौं न ।
कस्तुर : मेरो कथा त साह्रै सपाट पो छ त, यशो दिज्यू । काठियाबाडको पोरबन्दर शहरका नगरपिता थिए मेरो बुवा गोकुलदास माकनजी कपाडिया । अन्न, कपास र कपडाका धनाढ्य व्यापारी । आमा व्रजकुँवर बा कपाडिया मायालु थिईन, तर अनुशासन मन पराउने । रत्तिले अघि भनिन नि, उ मुखमा सुनको चम्चा लिएर जन्मेकी थिईन । सन् १८६९ अप्रिल महिनामा मेरो जन्म ताका त हाम्रो घरमा चम्चा मात्र होईन, थाल-कचौरा पनि सुन कै थियो होला । तर माईति जत्ति नै धनी भए पनि विवाह पछि केटीको जीवनलाई पतिको धर्म र परम्पराले बाँध्ने रहेछ ।
म भन्दा ६ महिना जति कान्छो मोहनदास हाम्रै टोलका करमचन्द र पुतलीबाई गान्धीका चौथो सन्तान भएर जन्मिएका थिए । म ५ वर्ष की हुँदा सम्म गान्धी परिवारका केटाकेटीहरू सँग खेल्न जाने गर्दथे । त्यसपछि आमाले भनिन—केटीहरू टोलका केटा सँग खेल्नु हुन्न । आमा भन्थिन—“कस्तुर, अब तिमी ठुली भयौ, मोहनदास सँग पनि खेल्न बन्द गर” । मैले सोधे हुँला—किन ? उत्तर पाईएको सम्झना छैन् ।
समझना छ त केवल ७ वर्षको हुँदा टोले ६ वर्षे केटो मोहनदास सँग भएको हाम्रो भव्य मंगनी—इन्गेजमेन्ट—आहा, गरगहना, चम्किला लुगा, थरिथरिका मिठाईका डाली, टोकरीमा रंगीविरंगी फलफुल, सब मेरालागि ! उनका पिता करमचन्द पोरबन्दर रजौटाका दिवान थिए, प्रधानमन्त्री सरहको पद । पछि त करमचन्द अझ ठुलो रजौटा राजकोटका दिवान पनि भए । मेरो पिताजीको परिवार मुलत: व्यापारी थियो । राजसेवामा रहेको दिवान परिवार संग सम्बन्ध जोडिन लागेकोमा उनि उत्साहित थिए । चिन्ता भने आमालाई थियो । मोहनदास साह्रै चकचके केटा थिए रे । बिहे भएपछि सुध्रिन्छ कि भनेर हामी १३ वर्षको छँदा हाम्रो विवाह भयो । किशोर-किशोरीको त्यो उमेर ! म १९ वर्ष की हुँदा हरीलाल जन्मिएको हो ।
त्यसपछि उनि बेलायत गए । वकिल भए । हामी दक्षिण अफ्रिकामा थियौं । सन् १८९८ देखि नैं उनकालागि पेशा र राजनीति आफ्नो परिवार भन्दा महत्वपुर्ण भई सकेको थियो । तर हाम्रो जीवनको निर्णायक मोड भने सन् १९०६ हो । भेदभावपूर्ण एसियाली कानून संशोधन अध्यादेशको विरोध गर्न मोहनले जोहानेसबर्गमा सत्याग्रह राजनीतिक दर्शनको विकास गरे । तर त्यही वर्ष जब उनले ब्रह्मचर्यको घोषणा गरे, हाम्रो दाम्पत्य जीवनमा पहिरो गयो ।
त्यो दिन अझै सम्झन्छु, जब मोहनले मलाई केही नबताईकन ब्रह्मचर्य व्रत लिएको घोषणा गरे। म अवाक् भएँ। केही क्षण त विश्वासै लागेन। यो एउटा निर्णय थियो, जसले हाम्रो वैवाहिक जीवनलाई पूर्ण रूपमा रूपान्तरित गरिदियो—र म त्यो यात्रामा अनभिज्ञ यात्रु मात्र भएँ। सहधर्मिनी, सहकर्मी र सहयात्री त रहे, तर अर्धाँगिनी रहिन ।
भित्रभित्रै म भत्किएँ। म पत्नी थिएँ, सायद प्रेमिका पनि थिएँ—तर त्यस क्षणदेखि म एक परिक्षण बनें, जुन उनले धर्मका नाममा आफूलाई दिएका थिए। म रिसाइरहें । रोए पनि । तर उनलाई थाहै भएन, वा उनले जान्न चाहेनन्। बाहिरबाट म चुप लागें । समाजले एउटी ‘सदगृहिणी’लाई विरोध गर्न दिँदैन नि त । मैले शान्त स्वीकृति दिएको अभिनय गरेँ, तर मनभित्र आँधी चलिरह्यो।
कहिलेकाहीँ लाग्थ्यो, के म उनको जीवनमा मात्र एक साधन हुँ? उनको जैविक प्रयोगशालामा प्रयोग हुने पात्र?
तर फेरि आफैंलाई सम्झाएँ—शायद यसैमा कुनै ठूलो उद्देश्य लुकेको छ कि । जति बुझ्यो उत्ति नबुझे जस्तो लाग्ने सन् १९०६-१९०८ समयावधि मेरालागि आन्तरिक द्वन्द, भावनात्मक दबाब र अत्यन्त असमंजसको कालखण्ड थियो । धर्मपत्निको संस्कारले गर्दा होला, ममा विरोध गर्ने आँट भन्ने पलाएन ।
यशोधरा : सुशी, तिमी किन टोलाएर बसी राखेकी? तिमीलाई आफ्नो कथा सुनाउने जाँगर चलेन ?
सुशीला : यशो दिज्यू, मेरो त आफ्नै कथा पनि वीपीका संस्मरणहरूको रंगमा रंगी सकिएको छ । तर, दिज्यू, मेरो माइती त कपिलवस्तु हो नि, लुम्बिनि नजिकै । अझ तिलौराकोट संगैको जमुहरा गाउँ, तपाईँहरूको दरवार भन्दा थोरै पर । पिता कमला प्रसाद शर्मा बडा हाकिम भए पूर्वी नेपालको झापामा । हाम्रो दाहाल परिवार र कोइरालाहरू बिच पहिले देखि सम्बन्ध थियो । तर मेरी आमा नेत्र कुमारीको प्रसव वेदनामा मृत्यु भएकाले मेरो बाल्यकाल भने कासी बास बस्नु भएकी मेरी हजुर आमा संग बितेको हो । साह्रै अस्थिर र डुलुवा केटी थिएँ रे म । पढ्न भन्दा नाँच गान हेर्न भागी हिड्ने । अनि बुवाले वनारसबाट झिकाएर पढ्नकालागि दार्जिलिंग पठाउनु भयो । पढाई सुरु हुन न पाउँदै बिहेको कुरो चल्यो र वीपीको ढिपीले गर्दा—उनले आफ्ने बुवालाई टेलिग्राम पठाएका थिए, ‘अन द फोर्थ और नेभर’— म दुलही भएर शर्मा बाट कोइराला भएँ । दार्जिलिंगको खासै सम्झना छैन् । वनारसका गल्लीहरू भने कहिल्यै बिर्सिन सक्दिन । त्यस पछि त कहिले पटना, कहिले विराटनगर त कहिले सारनाथ अनि कहिले काठमाण्डौं । खानावदोश जिन्दगी भयो । तर न परिवार हेर्न छाडे, न आफ्नो नृत्य संगको जोसिलो लगाव ।
फुर्ति लगाएका छन् वीपीले आफ्ना संस्मरणहरूमा । उनले गर्दा मैले पढ्न पाएँ अरे । उनैको परिवारमा घोडचढी सिके । तर मलाई त दार्जिलिंगको पढाई छोड्न लगाएर विराटनगर ल्याईएको थियो । हात्ति चढ्नेलाई घोरचढी सिक्नु परेको थियो । हो, एउटा कुरा भने पक्का हो । मेरा ससुराले सिकाएको आँटले गर्दा जस्तोसुकै दु:ख पर्दा म विचलित भने कहिल्यै भईन । अप्ठ्यारो बखतमा पनि सारनाथ बाट वनारस मध्य घाममा रिक्सा चढेर एक्लै नृत्य सिक्न आउजाउ गर्थे । वनारसको हावामा गीत, संगित र साहित्य बग्छ नि त । गंगा बगेको देख्दा देख्दै मन तरंगित हुन्छ । मन्दिरको घंट सुने पछि आफसे आफ आह्लादित भईन्छ । वनारस बाहेक अन्त कतै बसेको भए सायद वीपीमा पनि जे उनले भोगे, त्यो सहने शक्ति आउँदैन थियो होला । बाँकी कथा त वीपी र उनको संघर्षको हो । न्यूनतम खर्चमा २६ जनाको संयुक्त परिवार संगसंगै नेपालबाट वनारस आउजाउ गरि रहने राजनीतिक कार्यकर्ताहरूको हेरचाह गर्न कति गाह्रो हुन्छ भन्ने कुरा मैले कसैलाई भनिन । भने पनि कस्ले पत्याउथ्यो? कुनै गुनासो गरिन । जीवन हो, बित्दो रहेछ दिज्यू । वीपीलाई महामानव भन्नेहरू मलाई महामानवी भन्दैनन् त ।
यशोधरा : अब मेरो पालो ? आह, मेरो कथा । कहाँ बाट पो थालनी गर्ने होला । कस्तुर र रत्ति दुबै भारतवर्षको पश्चिमि किनार अरब सागरको तट तिरका । रेणु त बंगाल की, पदमा र मेघना नदीहरूको काखमा हुर्केकी। सुशी मेरै छेउछाउ कि भई । मेरो कहानी झण्डै २६०० वर्ष पहिले सुरु हुन्छ । गंगा मैदानमा आर्यहरूको प्रभाव विस्तार पछि कतिपय आदिवासी र जनजाति उत्तर तिर सर्दै गएका थिए । शिवालिक पर्वत श्रृंखला तल चारकोसे झाडीको छेउ मैं शाक्य र कोलीय प्राचीन कालका नजिकका छिमेकी गणराज्य थिए । दुबै गणराज्यका गणपति अर्थात राजा आफ्ना वंश परम्परालाई इक्ष्वाकु सूर्यवंशी सम्राज्य संग जोडेर आफ्नो शासनकालागि प्रभावशाली आर्यहरू सँग जोडिएको साँस्कृतिक वैधानिकता प्राप्त गरेका थिए । स्वयं आदित्य संग नैं वंशवृक्ष जोडिए पछि प्राचिन आदिवासी उद्भव छोपिएर सभ्य र सुसंस्कृत आर्य कुल जो स्थापित हुन्थ्यो ।
शाक्यहरूको राजधानी कपिलवस्तु थियो भने कोलीयहरूको राजधानी देवदहमा रहेको थियो । शाक्य राजकुमार सिद्धार्थ जन्मिएको लुम्बिनी जस्तै कपिलवस्तु र देवदह अहिले नेपालको लुम्बिनी प्रदेशमा पर्दछ । यी दुई राज्यहरूलाई रोहिणी नदी ले छुट्याएको थियो, जसको पानी सिँचाइका लागि प्रयोग गर्ने विषयमा कहिलेकाहीँ विवाद पनि हुन्थ्यो । फेरी त्यस बखत कोलीय र शाक्य सरहका अरू कुनै राजपरिवार शारदा नदी पुर्व र सदानिरा पश्चिम चारकोशे झाडी वरपर थिएन । जातीय शुद्धता कायम राख्नका लागि शाक्य र कोलीयहरूबीच मात्रै विवाह गर्ने चलन थियो । के थाहा, नातागोता भएपछि पानी बाडफाड र सीमा विवाद सल्ट्याउन पनि सजिलो हुन्थ्यो कि !
रत्ति : मेरो प्रेम विवाह फरक धर्म र सँस्कृतिको संगम । कस्तुर दिज्यूको सजातीय । रेणु र सुशीको एक किसिमले बृहद् परिवार र चिनजान भित्र । अनि यशो दिज्यू, तपाईँको भने पारिवारिक सम्बन्धीहरू बिच? अलि खुलस्त गर्नुस् न दिज्यू !
यशोधरा : हो बहिनी । मामाको छोरा-छोरी र फुपूको छोरा-छोरी बिच बिहेबारी चल्ने प्रथा धेरै पुरानो हो । राजकुमार सिद्धार्थ गौतमका पिता, राजा शुद्धोधन शाक्यको विवाह कोलीय गणराज्यकी मायादेवी र महाप्रजापति सँग भएको थियो, ती थिईन सिद्धार्थकी आमा र सिद्धार्थकी सानीआमा । मायादेवी र महाप्रजापति दुवै राजा अञ्जन कोलीयका छोरीहरू थिए — मेरा फुपुहरू। मेरा बुवा राजा सुप्रबुद्ध कोलीय कहलिएका विद्वान थिए। अर्कोतिर, आमा रानी अमिता भने राजा शुद्धोधन शाक्यकी बहिनी थिइन्, अर्थात् राजकुमार सिद्धार्थ गौतमकी फुपु। वैवाहिक सम्बन्धहरू हाम्रा दुई शक्तिशाली गणराज्य — शाक्य र कोलीय — बीचको राजनीतिक र सामाजिक गठबन्धनको आधार पनि थिए। आजको भाषामा भन्ने हो भने, सिद्धार्थ मेरा ‘फर्स्ट कजन’ हुन् र हाम्रो बिहे ‘क्रस-कजन’। मेरा बुवा सुप्रबुद्ध सिद्धार्थको मामा थिए नि त । मेरो जन्म पनि वैशाख महिनामा नै, राजकुमार सिद्धार्थ जन्मिएकै वर्ष भएको भन्छन् । कस्तुर र मोहन जस्तै हामी समवयी त पक्कै हो जस्तो लाग्छ ।
फजिला: मेरो पनि त्यस्तै हो यशो दिज्यु । यो मामा-फुफु सन्तान बिच बिहेबारी हुने चलन पुरानै रहेछ त!
कस्तुरबा : यशो दिज्यू, बाल्यकालको कुनै त्यस्तो सम्झना ?
यशोधरा : रत्ति, तिमी सुनको चम्चा मुखमा लिएर जन्मिएको कुरा गऱ्यौ । कस्तुर बहिनिलाई सुनको कचौरा बाट तेल घसिएको होला । म जन्मिदा त देवदह दरवारको सम्पुर्ण भाँडाकुँडा नैं सुनको रहेको पनि हुन सक्दछ ! तिनताक गंगा मैदान तिर चोर-डाँकाहरूको बिगबिगी हुने गर्दथ्यो । कान्धार देखि बंगाल सम्म व्यापार गर्ने ठुला व्यापारीहरूलाई आफ्नै सुरक्षाकर्मीको फौज लिएर हिड्नु पर्थ्यो । कालान्तरमा तिनको सुरक्षाको ग्यारेन्टी गर्ने उत्तरपथ छेउछाउका रजौटाहरूले कर असुल गर्न थालेका थिए । कोलीय र शाक्य राजकुलको सम्पन्नताको श्रोत तिनको आन्तरिक आय भन्दा पनि त्यस्तै सुरक्षा र सेवा कर रहेको थियो । खैर, त्यो जे सुकै होस् । मलाई सम्झना के छ भने मेरो बाल्यकालका पुतलीहरू पनि सिल्क लुगामा सज्जिएका हुन्थे र हाम्रो भाँडाकुटी चम्किला हुन्थे ।
म १६ वर्ष हुन लाग्दा पहाडका भुरेटाकुरे रजौटा देखि मैदानी इलाकाका महाजनपदहरू बाट विवाह प्रस्ताव आउन थाली सकेको थियो । तर कोलीय राजकुमारीको शाक्य राजकुमार सँग सम्बन्ध जोडिने पूर्वनिश्चित जस्तै थियो । म समवयी राजकुमार सिद्धार्थसँग विवाह बन्धनमा बाँधिए । हो, बाँधिएँ, किनभने मेरो स्वतन्त्रता खोसियो । म तरवार चलाउन सिक्दै थिएँ, बन्द भयो । घोडचडी तालिम रोकियो । श्रृंगार पटार पो सिकाउन थाले, दरवारका दक्ष दासीहरूले । गीत, संगीत र नृत्यको अभ्यास सुरू भयो । अचानक मलाई राजकुमारी बाट महारानी हुने तयारीमा लागाएको जस्तो भयो । राजकुमार सिद्धार्थमा वैराग्य नजागोस् भनेर उनलाई रसरंगमा डुबाउने जिम्मेवारी पाएकाले मैले राजकाज चलाउने देवदहमा पाएको तालीम बेकामे हुँदै गई रहेको थियो । रत्ति र कस्तुर दुबै १९ वर्षमा आमा बनेकी थिईन । म त २९ वर्षको उमेरमा आफ्नो एक मात्र सन्तान राहुललाई जन्माएँ । बच्चा जन्म्यो भने उत्तराधिकारीको चिन्ता बाट मुक्त भएका कपिलवस्तुका राजकुमार उम्कि हाल्छन कि भनेर कपिलवस्तु दरवारका हर्ताकर्ताहरूके सल्लाहमा मैले गर्भनिरोधक जडीबुटी सेवन गर्ने गर्दथे ।
तिमीहरू कल्पना गर्न सक्छ्यौ, छोरो जन्मिएको सुनेर राजकुमार सिद्धार्थले के भने—“राहूलो जातो, बन्धनं जातं” अर्थात “एउटा राहू (बन्धन) को जन्म भयो, एउटा बन्धन उत्पन्न भयो” अरे ! उनलाई गृहत्याग गर्नु नैं थियो भने चन्द्रग्रहण लागेको रातमा छोरालाई राहुल अर्थात “सानो राहु” ठहऱ्याउने कर्म किन ? उनि हिडे, कसैलाई केही नभनी । मेरो प्रश्नलाई हिन्दी कवि मैथिलि शरण गुप्तले आफ्नो चम्पू काव्यमा समेटेको जस्तो लाग्छ—“सखी वे मुझसे कह कर जाते / कहते तो क्या मुझको अपनी पग बाधा ही पाते?”
छायाँ बोल्छ : सुन्नु भयो, पुरूषकालागि आफ्नो महत्वाकांक्षा सर्वोपरि । जिन्नालाई रत्ति भन्दा पाकिस्तान प्रिय । गान्धीलाई परिवार भन्दा अहिंसा र ब्रह्मचर्यको प्रयोगको चिन्ता । मुजीबलाई ‘आमार सोनार बांगला’ बनाउने रहर । वीपी प्रजातन्त्र स्थापना र पुनर्स्थापनाकालागि आफु त जे भोगे भोगे, उनको परिवार पनि संघर्षको रापबाट अछुतो रहन सकेन । बुद्धत्व पाउन लालायित सिद्धार्थ गौतम कपिलवस्तु राज्यको भविष्य प्रति पनि निरपेक्ष छन् । पुरूष आफ्ना चाहनाका पछाडी बेतोडले कुद्नलाग्ना संसार त नारीले नैं थाम्ने रहेछन् । सृष्टि त शब्द नैं स्त्रिलिंग रहेछ, थाम्ने शक्ति पनि त नारी मैं हुने भयो ।
दृश्य ४: कथोपकथन
मञ्च : मध्यान्हको चहकिलो प्रकाश, तबलामा राग शुद्ध सारंगको द्रुत लय बजिरहेछ ।
यशोधरा अब भिख्खुनी पहिरनमा छिन—गाढा सुन्तला रंगको चीवर । कपाल छैन् वा नदेखिने गरि रूमालले छोपिएको छ । रतनबाई अनौपचारिक पश्चिमा पहिरनमा देखिन्छन् स्कर्ट र टप, छोटो कपाल । कस्तुरबा रातो पट्टी भएको घरबुना सेतो साडीमा, कपाल कोरिएको छ, निधारमा रातो बिन्दी बाहेक अरू कुनै मेकअप छैन् । फजिला हरियो सारीमा, घुम्टो ओढेकी । सुशीला स्निघ्न सेतो साडी र गाढा निलो ब्लाउजमा, कपाल कोरेकी)
शैली : पात्रहरू मंचमा एक-एक गरेर प्रवेश गर्छन् । मौन । केही सम्झे जस्तो गर्छन् । हाँस्छन् । मुस्कुराउछन् । अठ्ठहास् गर्छन् । सुस्केरा हाल्छन । र, त्यसपछि शान्त स्वरमा एकालाप ।
फजिला: रविन्द्र संगितको पंक्ति ‘आमार शोनार बांग्ला आमार शोनार बांग्ला, आमि तोमाए भालोबाशी । चिरोदिन तोमार आकाश, तोमार बताश, अमार प्राने बजाए बाशी ।’ गुगुनाउँदैएक दर्शक दीर्घा तिर हेर्छिन् । एक छिन् गम खाएको जस्तो चुप लाग्छिन् । ‘खै के भयो, के भयो मेरो बंगाललाई । अंग्रेजहरूले बाँडेर पुर्वी र पश्चिमी बंगाल बनाए । पश्चिमी पाकिस्तानले आन्तरिक उपनिवेश जस्तो व्यवहार गऱ्यो, अनि बंगलादेश बन्यो । शेख साहब युद्ध र प्रकृतिक प्रकोपबाट क्षत-विक्षत नयाँ देशलाई जोगाउन लागि परेका थिए । राष्ट्रियता, समाजवाद, प्रजातन्त्र र धर्मनिरपेक्षतामा आधारित संविधानको मस्यौदा तयार गर्दै र त्यस अनुरुप राज्य चलाउने प्रयास गरिरहेको अवस्थामा उनी चरम गरीबी, बेरोजगारी, व्यापक अराजकता र व्यापक भ्रष्टाचारको सामना गर्न गाह्रो अवस्थामा थिए । उनको एक दलीय राजनीतिको परिकल्पना बंगलादेशको आधार मजबुत तुल्याउनकालागि थियो । तर बंगलादेशको सेनाबाट पाकिस्तानको प्रभाव हटी सकेको थिएन ।
अहिले पनि १५ अगस्त १९७५ मलाई दु:स्वप्न जस्तो लाग्दछ, यशो दिज्यू । आम सभामा कडकेर ‘बंग्लार मानुस मुक्ति चाहे’ भन्ने बंग बन्धु, राष्ट्र जनक र बंगलादेशका प्रथम राष्ट्रपति, म, हाम्रा तिन छोरा संगै हाम्रो परिवारका २० सदस्यहरू एकसाथ मारियौं । विदेशमा रहेकाले हाम्रा दुई छोरीहरू शेख हसिना र शेख रेहानाको ज्यान जोगिएको थियो । महात्मा गांधीले इतिहास बनाए । कायदे आजम जिन्ना राजनीतिक भूगोल कोर्न सफल भए । अहिले लाग्छ, शेख साहबको महत्वाकांक्षा भूगोल र इतिहास एकसाथ बदलेर ‘सोनार बंग्ला’ बनाउनु रहेको थियो । जनतालाई तयार नगरि युगान्तकारी परिवर्तन गर्न सकिदैन भन्ने कुरा शेख साहबले ठम्याउनै सकेनन् । खैर, उनि बेगर बंगलादेशको इतिहास लेख्न सकिदैन । तर, म ? म फजिलातुन नेसा हक मुजीब उर्फ रेणु । म कहाँ छु? कहिलेकाँही मलाई कसैले बंगमाता भन्दा जिस्काएको जस्तो लाग्थ्यो । अब त कस्ले पो सम्झन्छ यो फजिला रेणु भन्ने व्यक्तिलाई !
अगस्त १५ भन्दा एक दिन अगाडीको हाम्रो वार्तालाप मलाई अहिले पनि याद छ । उनले भनेका थिए—“रेणु, समय असहज बन्दै गएको छ । जेल, मृत्यु, मिथ्या आरोप । यी त मेरा पुराना साथी हुन् । त्यस्ता कुरा सँग मुजीब के डराउथ्यो ! डर मलाई बंगलादेशको भविष्य सोचेर लाग्छ—पाकिस्तानबाट स्वतन्त्र भएपनि कहीँ हाम्रो नियति पनि पाकिस्तान जस्तै हुने त होईन ?” मैले उनलाई हकारेकी थिएँ—शुभ शुभ बोल्नुस् ।” तर, इतिहास पढेका शेख साहब, भविष्य पनि ठम्याई सकेका रहेछन् ।
रतनबाई पेटिट जिन्ना : मेरा गुडमैलौ सम्झनाहरूले मलाई अहिले पनि शान्त भएर बस्न दिदैन । किशोरावस्थामा मेरो मनको आकाशमा कहिले बादलले ढाक्थ्यो, त कहिलेकाहीँ घामजस्तै उज्यालो झुल्किन्थ्यो। त्यही बेला म मेरा प्रिय ‘जे’ सँग भेटेकी थिएँ । अघि नैं भने नि, दार्जिलिंगमा छुट्टीमनाउन जाँदा नजिकिएको थिएँ । त्यो सम्बन्धले मेरो जीवनमा अकल्पनीय रंग थपेको थियो। उनी कहिले मौन रहन्थे, कहिले आँधीझैँ उग्र, र म सानो चरा भएर उनको छायाँमा उड्थे, खस्थे र सम्हालिन्थे ।
मेरो हृदयमा मोह, माया र स्वतन्त्रताको मिश्रण थियो । मेरा प्रिय ‘जे’ ज्योति जस्तो भएर मेरो जीवनलाई उज्यालो बनाउँथे, तर मेरो मनमा उनीसँगै बाहिरको संसार चहार्ने इच्छा पनि जाग्थ्यो । उनमा भने इतिहास मात्र नभएर भारतको भूगोल समेत बदल्ने चाहना जागृत भई सकेको थियो । औसत व्यक्ति प्रेमकालागि जे पनि गर्न तयार हुन्छ । तर मेरा प्रिय ‘जे’ औसत थिएनन्—उनको जीवनको राजनीतिक लक्ष जीवनसंगिनी भन्दा ठुलो थियो—धेरै ठुलो—हाम्रो एकमात्र सन्तान पुतली जस्ति छोरी दीना भन्दा पनि ठुलो ।
हामीबीचको मौनता नै हाम्रो गहिरो संवाद थियो। आँखा मिल्दा शब्दको आवश्यकता रहँदैनथ्यो। उनी मेरो भाव बुझ्थे, म उनीमा डुब्थेँ। तर डुब्दै गर्दा ममा हराउने डर रहि रहन्थ्यो । उनि भने अविचलित रहन्थे ।
म सहज थिइनँ। मेरो भोगाई, मेरो स्वत्वको जटिलता, मेरा प्रिय ‘जे’ सँग ठोक्किन्थ्यो। उनी उज्याले बनेर मेरो जीवनमा आएका थिए । मेरो हृदयको हरेक कुनामा हलचल ल्याएका थिए। उनी हाँस्दा मलाई नाँचु नाँचु लाग्थ्यो, टाढा हुँदा जीवनको संगीत हराउँथ्यो। म बारम्बार सम्झन्थेँ—प्रेम रमाइलो मात्र होइन । यो जिम्मेवारी हो । अन्तरद्वन्द्व हो । र हो पखेटा फिजाएर उड्ने चाहना पनि । अमिल्दा चाहनाहरूको पोको !
मेरा प्रिय ‘जे’ सँग बिताएका पलहरू सँधै जगमग हुन्थ्यो भने होईन । समाज, इतिहास, र व्यक्तित्वका भिन्नताले हाम्रो सम्बन्धमा आँधी ल्याउँथे । तर म बुझ्थेँ—यिनै चुनौतीले हाम्रो प्रेमलाई अर्थ दिन्थ्यो। प्रेम सरल भएको भए, केवल एउटा रंगमा सीमित रहन्थ्यो—तर उनि मेरा सबै रंग थिए।
म स्वतन्त्र उड्न चाहन्थेँ । उनकालागि आफ्नो उडान महत्वपुर्ण थियो । उनि आफ्नो प्रेमलाई सुनको पिँजडा बनाएर मलाई खुसी राख्न चाहन्थे । मलाईँ पनि लाग्थ्यो, त्यो पिंजडा शत्रु त होईन । हाम्रो कथाको संसार हो । तर उड्ने चरी जत्तिसुकै ठुलो पिँजडा भित्र कैद हुन चाहदैन । उनलाई एकपटक बेलायत सरकारले ‘सर’को उपाधी दिने कुरा चल्यो । मैले उनलाई थर्काए—“म स्वतन्त्रता सेनानी की पत्नी हुन स्विकार गरेकी हुँ, ब्रिटिसको पिछलग्गु भयौं भने म तिमिलाई तलाक दिन्छु” । उनि हाँसेको सम्झिन्छु । उनि त पाकिस्तान बनाउने अभियानमा लागि सकेका थिए । एउटै घर भित्र रहे पनि कुराकानी त के, भेटघाट समेत हुन छाडेपछि म ताजमहल होटलमा गएर बस्न थाले ।
मन टुटे पछि शरिरले पनि साथ दिन छोड्ने रहेछ । मृत्यु नजिकिँदा पनि म डराएकी थिइनँ । विरह महसुस गर्थेँ। उनीसँग बिताएका हरेक मुस्कान, मौनता र स्मृतिहरू सम्झिन्थेँ। उनि मलाई लिन आएनन भनेर म कत्ति पनि चिन्तित थिईन । शान्त भएर देहत्याग गरेकी थिए—२० फरवरी सन् १९००मा जन्मेको, २० फरवरी १९२९मा मृत्यु—ठ्याक्क २९ वर्षको जीवन । छोटो भएपनि प्रेमी सँग बिताएका पलहरू यादगार बन्ने रहेछन् । भारतको इतिहासले मलाई स्वतन्त्रता सेनानी मान्दैन । पाकिस्तानकालागि म काफिर्नी नैं छु । सुन्छु, मेरा प्रिय ‘जे’ की कान्छी बहिनी फातिमा जिन्नालाई ‘मादर-ए-मिल्लत’ अर्थात राष्ट्रमाताको सम्मान दिईएको छ । मेरो त कब्रमा फतिहा पढ्न पनि कोही जाँदैनन् जस्तो छ । तर मलाई आफ्ना निर्णयहरू प्रति कुनै पश्चात्ताप छैन्, किनभने मेरो नियति पनि मेरो आफ्नै छनौट थियो ।
कस्तुरबा : पश्चात्ताप रे ? के को पश्चात्ताप ? म बापू संगै थिएँ थुनामा, फरबरी १९४४ तिर । निमोनियाले लोथ थिएँ । बापूले मलाई पेन्सिलिन लगाउन दिएनन्, पश्चिमा ओखतिले शान्तपूर्वक मर्न दिदैन भन्दै । छोरोले कति कर गऱ्यो, अहँ बापूले मानेनन् । उनलाई आफ्नो सिद्धान्त प्रियजनको जीवन भन्दा महत्वपुर्ण जो थियो ।
अब त धेरै समय बितिसकेको छ। त्यो साँझको मौनता अझै पनि मेरो आत्मामा गुञ्जिरहेछ। म त्यो क्षणहरू सम्झिन्छु, जब मेरो शरीर एकदमै कमजोर भइसकेको थियो, तर मन भने मोहनको वरिपरि नाचिरहेको थियो। हरेक साससँगै जीवनभरि हामीले बाँडेका ती हाँसो, ती संघर्षहरू, र त्यो गहिरो मौनता—सबै महसुस भइरहेका थिए।
त्यस साँझ मोहन मेरो हात समातेर बसिरहेका थिए। उनका आँखाहरूमा गहिरो संवेदना थियो। उनले बिस्तारै भनेका थिए, “बा, तिमीले धेरै सह्यौ। हामीले धेरै देख्यौं, धेरै लड्यौं ।”
म ती शब्दहरू सुनेर मुस्कुराएकी थिएँ। त्यो हाँसोमा मेरो जीवन भरिएको थियो । मैले भनेकी थिएँ, “मोहन, तिमीले मलाई केवल पत्नी हैन, साथी, सहयात्री र आत्माको साथी बनायौ । म जान्दछु, अब म धेरै दिन बाँच्छु जस्तो लाग्दैन, तर मेरो आत्मा तिम्रो वरिपरि उडिरहनेछ ।” हो, मर्ने बेला बापू पुन: मेरा बालसखा मोहन भई सकेका थिए ।
उनले मेरो गालामा हात राखेका थिए—नम्रता र माया मिसिएको त्यो स्पर्श अझै पनि मेरो स्मृतिमा ताजै छ । उनी बोलेका थिए, “तिमी मेरो जीवनको शक्ति हौ, कस्तुर । तिमी बिना यो यात्रा अधुरो हुन्थ्यो । तिम्रो प्रेम र धैर्यले मलाई हरेक मोडमा मार्ग देखायो ।”
त्यो अन्तिम पलमा हामीबीच खासै शब्द बाँकी थिएनन् । हामी आँखा मिलाएर बस्यौं । त्यो मौनता बोलिरहेको थियो—हाम्रो जीवनको सम्पूर्ण कथा: प्रेम, त्याग, संघर्ष र समर्पण ।
मेरो अन्तिम इच्छा यही थियो—मोहनले शान्ति पाऊन्, जसरी उनले मलाई सधैं प्रेम दिए । त्यसपछि उनले फेरि भनेका थिए, “तिमी मेरो सूर्य हौ, मेरो बादल हौ। तिमी नै मेरो कथा हौ ।”
त्यो वाक्यसँगै म शान्त भइ गएँ । आँखा बन्द गर्दा, जीवनका सबै सम्झनाहरू एकै चोटि मनमा बगिरहेका थिए। म जान्दथेँ—म जाँदैछु, तर म समाप्त भइसकेकी छैन । मेरो प्रेम, मेरो आत्मा, मेरी सम्झना—सबै मोहनसँगै रहनेछ ।
हाम्रो त्यो अन्तिम मौनता मेरो जीवनको सबैभन्दा मिठो संगीत बन्यो । र मोहन, मेरो जीवनको त्यो अमूल्य हिस्सा—सधैं मेरो हृदयको आकाशमा चम्किरहनेछन् ।
यशोधरा: सुशी, खै तिमी त हराएको जस्तो । तिम्रा कुनै सम्झना छैनन्?
सुशीला : कति छन् छन्, सम्झनाका तरेलीहरू यशो दिज्यू । अलमलिन्छु, के सम्झुँ, के बिर्सु । विराटनगरको च्यूरा-चना-आलु वा रोटी-अमलेट नाश्ता । गोलघर, पटना नजिकको निवास र गंगा नदीको शितल बतास । चाईनिज रेस्टुरेन्टमा चपस्टिकले चाउमेन खान गरेको प्रयास । गिरिजा देवीको “बाबुल मोरा, नैहर छुटो री जाय” सुन्दा मेरा आँखा रसाएको देखेर वीपीले मेरै पछ्यौराले मेरो आँसु पुछि दिएको याद । उनको शेरवानी, ओभरकोट र लवेदा-सुरूवाल । कहिलेकाँही पाईजामा-कुर्ता संगै टाँसिएर आउने चुरोटको गन्ध । तर, सबभन्दा बिर्सन नसकिने छन् एकान्तमा उनको अन्तिम समयका मौनताहरू । लाग्दथ्यो, उनि मलाई भन्दै छन्—“सुशीला, घर–परिवारलाई तिमीले सधैँ रानी माहुरी भएर सम्हाल्यौ । कहिल्यै गुनासो गरिनौं । म भने राजनीति र आफ्ना सङ्घर्षमा अल्झिँए । तिम्रा नि:शब्द भावहरू ठम्याउन सकिन । तिम्रो शान्त मुस्कानले छोपिएको ज्वालामुखी म बुझ्दिन थेँ । तिम्रो हँसीको झरनामा मेरो मन नुहाउथ्यो । कति माफ गरेको मलाईँ ? अब शरीर थाकी सकेको छ, धेरै थेग्न सक्दैन । भन्न चाहेको तर भन्न नसकेको कुरा अहिले भनौं ? तिम्रो साथ, तिम्रो धैर्य, र तिम्रो प्रेमप्रति म अनन्त कृतज्ञ छु । नाँच्न न छोड्नु है सुशीला ।” मलाई अब महामानवी कहलिन पनि मन छैन् ।
यशोधरा : तिमीहरूलाई न होला, मलाई चाहीँ पछुतो छ । म किन जिद्दी गरेर सन्यासिन भएँ हुला ? उनि त मानि रहेका थिएनन् । सृष्टी चलाउन नारीले दरवार देखि घरवार सम्हाल्नु पर्छ रे । दीक्षा योग्य मानिदैनथ्यो नारीलाई, बौद्ध धर्मको प्रारम्भिक कालमा । सायद डराउथे उनका पुरूष शिष्यहरू, हाम्रो सौन्दर्य र उर्जा देखेर । तर मेरो त पुत्र खोसिएको थियो—मैले हुर्काएको राहुलको हातमा तथागतले भिक्षापात्र थमाएका थिए । बुद्ध अमर छन्, मेरो छोरो राहुललाई क-कस्ले सम्झन्छ आज ?
भिक्षुणी बन्ने अड्डी कसेर मैले गरगहना फुकाले, राजसी वस्त्र परित्याग गरें र कपाल खौरिएर तथागत सन्मुख उभिए—“महामना, अग्नी, जल, वायू, आकाश र माटो साक्षी राखेर मलाई देवदह बाट कपिलवस्तु ल्याएका थियौ । कोलीय र शाक्य वंशका पुर्खाहरूले नेपथ्य बाट आशिर्वचन दिएका थिए । दुबै गणराज्यका प्रजाजन खुशियाली मनाएका थिए । तिम्रो छोरोलाई मैले जन्माएँ, मैले एक्लै आमा-बुबा दुबै भएर हुर्काए । तिमी आधारातमा चुपचाप गृहत्याग गर्दा सपनामा समेत म तिम्रो हित चिताई रहेकी थिएँ । आज कुन मुखले भन्छौं म भिक्षुणी बन्न लायक छैन् ? के मेरो कर्मयोग तिम्रो ध्यानयोग भन्दा कम महत्वपुर्ण थियो तथागत ?” उनि केही बोल्न सकेनन् । मैले दीक्षाको अनुमति पाएँ । भिख्खुनी संघको सुरुवात भयो ।
कस्तुर : यशो दिज्यू, तपाईँको दीक्षाले बौद्ध धर्ममा भिक्षुणी र आनीहरूकालागि ढोका खोल्यो । अर्हत हुनु भयो । अनि पश्चाताप किन ?
रत्ति : हो त, यशो दिज्यूको योगदानलाई बुद्ध धर्म सबै पंथ र सम्प्रदायहरूले स्विकार गर्छन् । पछुतो किन दिज्यू ?
यशोधरा : हो, बुझाई हाम्रो ज्ञानको सिमिततामा छ । कर्मयोग बेगर ज्ञानयोग, ध्यानयोग वा भक्तियोगको स्रोत कहाँ बाट आउछ ? शक्ति र शिव, प्रकृति र पुरूष, इभ अनि आदम, यिन पछि यांग ? तथागत कपिलवस्तु फर्किए पछि मैले सोझै उनका आध्यात्मिक उपलब्धीहरू माथी हक दावी देखाउनु पर्ने थियो । मेरो जे थियो, उनको पनि हुने भएपछि; उनको जे थियो, त्यो मेरो पनि त थियो । तर त्यसको साटो मैले शिष्या बन्ने अधिकार माँगे । आज हेर, राधा-कृष्ण र सीता-राम जसरी यशोधरा-बुद्ध कसैले पनि भन्दैन । म बढीमा अर्हत् हुँ । तिमीहरू पनि त्यही । रत्ति-जिन्ना र कस्तुर-गान्धी पनि त हुन सक्थ्यो । सुशीला-वीपी वा फजिला-मुजीब हुनु पर्दैन ? पितृतन्त्रको वटवृक्षलाई मलजल गर्ने हामी पनि हौं है बहिनीहरू ।
दृश्य ५: उत्तरकथन
मञ्च : गोधूली बेला, मन्द स्वरमा हार्मोनियम र ढोलकमा सोहरको धून ।
फजिला: धानमण्डीलाई सेनाले घेरे पछि शेख साहबले जनरल सफिकउल्लाहलाई फोन गरेका थिए—सफिक, कू गर्न लागेका हौ? उत्तर आयो, भाग्नुस्, अब मेरो हातमा केही छैन् । उनले मानेनन्—आफ्नो राष्ट्रनिर्माता र राष्ट्रपितालाई कुनै बंगालीले गोली हान्ने बेवकूफी कदापी गर्न सक्दैनन् भन्दै मेरो कुरा समेत भर्यांगबाट ओर्लिएर र एउटा सिपाहीले पुरै स्टेनगनको गोलीले उनको शरिरलाई क्षत-विक्षत बनाई दियो । र, शोक मनाउन म पनि बाँचिन । कसैको कुरा नसुन्ने बानी हुँदो रहेछ, यी महान् भनिएका पुरूषहरूको ।
सुशीला : हो, जति विद्वान, उत्ति नैं हठी । कति पटक भने हुँला म वीपीलाई, तपाईँलाई राजाले रूचाउँदैनन्, सुवर्णजीलाई सरकार चलाउन दिएर आफु पार्टी बलियो पार्न लाग्नुस् । मानेनन । ऐतिहासिक जिम्मेवारी छ भन्थे । निर्वासनबाट देश फिरे पछि विराटनगर मैं बसौं भनेकि थिएँ । फेरि उहि इतिहासको जिम्मेवारी । उनि इतिहासमा त छन् । तर, म ? मन्द हाँसो: अब बरू कलाकर्मी मनिषा की हजुर आमा भनेर चर्चा सुन्दा मन प्रसन्न हुन्छ ।
रत्ति : पृथ्वीलोकमा हाम्रा बारे चर्चा हुन्छ होला यशो दिज्यु ? मेरा प्रिय ‘जे’लाई समय मैं अस्पताल पुग्न न दिई मर्न दिए भन्छन् । के बाँचेको भए उनलाई केही दिन जोगाएर पाकिस्तानको भविष्य बदल्न सकिन्थ्यो होला ? तपाईँ त अर्हत्, भन्नुस न !
कस्तुर : मेरो मनमा पनि कहिलेकाहीँ प्रश्न नउठ्ने होईन्—किन हत्या भयो मोहन को? उनि त बिचरा सबको हितकालागि आफ्नै परिवारलाई पनि बेवास्ता गर्दथे । उनि ‘राष्ट्रपित’ कहलिएको देशमा किन सधैँ कलह र अशान्ति ?
यशोधरा : देहत्याग त स्वयं तथागतलाई पनि स्विकार गर्नु परेको थियो । उनका नाउँमा श्रीलंका र बर्मामा मचाईएका उत्पात ! नरको प्रतिक आगो ओकल्ने ड्रागन हुन्छ रे चिनियाँ कलामा । नारीको प्रतिक फिनिक्स चरा, आगो बाट उम्किएर आकाशमा उड्छ र नयाँ संसार बनाउछ । स्त्रैण शक्तिको पुनरोदय बाहेक सृष्टीको निरन्तरता सम्भव छैन् ।
रत्ति : माफ गर्नु होला, अन्तमा मेरो सानो जिज्ञाशा । हामी उस्ताउस्तै किन देखिएका ? सबै ३० वर्ष हाराहारी?
यशोधरा : सबभन्दा सृजनात्मक उमेर । रेणु आफ्ना पति संगै भाषा आन्दोलनमा सकृय भईन । सुशीला प्रधानमन्त्री कि औपतारिक सत्कारिणी भईन । तिमीले पृथ्वी छाड्यौ । मोहन राजनीतिमा डुबे पछि २९ कै उमेरमा दक्षिण अफ्रिकामा एक्लिई कस्तुर । म आमा बने । परित्यक्त सरह युवराज्ञी भएँ । सबै २९ वर्षमा । तयारी पुरा भएर जीवन सँघर्षमा होमिने कोशेढुंगा हो कि त्यो उमेर ? सृष्टीका सबै रहस्यहरू त यसका रचयितालाई पनि सायदै थाहा होला !
नेपथ्य बाट मैथिली गीत बज्छ :
दुभी रोपलहुँ, धान छिटलहुँ,
रोपल कदमक गाछ हे सखी...
गैया पोसलहुँ, आँगन निपलहुँ,
घर छरैलहुँ लार पोआर...
परूका जे गेला विदेश पिया,
एखनो ओम्हरे परिविहार...
हे सखी! हे सखी! मोन बौरा गेल,
आँखी सुखल, मन दुखिया हार...
(ठेका बदलि, स्वर उच्च)
अब नै रहब पिया लेल बाटे,
आब होएब हम अपने ठाढ़...
हे सखी! हे सखी! जनम जनमक बंधन तोड़ि,
हम बनब अपन साज ।
पाँचै पात्र नाँच्छन । सुस्तरी पर्दा बन्द हुन्छ । स्टेजमा गोधूली बाट सूर्योदयको प्रकाश फैलिन्छ ।
दृश्य ६ : समापन
छायाँ सुस्तरी स्टेजको मध्यमा सशरीर देखा पर्छ । यो परिकल्पित यथार्थमा मूलपात्रहरू सँगै जुन छायाँ देख्नु भयो, त्यो म हुँ । निर्देशक भएको दावी म गर्दिन । सबै क्रियाकलापका निर्देशक एकमात्र छन् — निराकार, निर्विकार, निरलिङ्ग, नामरहित, सर्वव्यापी र समस्त सृष्टिका शिरोमणि। म त केवल यस नाटकको प्रस्तुतकर्ता हुँ। यदि यसले तपाईंलाई सोच्न बाध्य पार्यो भने, त्यसैमा यसको सफलता निहित छ। सम्झिनुस्, अरू सबै कलाकृतिहरूझैं, यसले कुनै पाठ सिकाउँदैन—केवल समानुभूति जगाउने प्रयत्न गरेको छ ।
प्रतिच्छायाँ भने छायाँ सँग प्रतिवाद गर्न दर्शक दीर्घा बाट मंचमा उक्लिन्छन् । तपाईँ एक्लै हो र प्रस्तुतकर्ता ? अनि म को नि ? सायद दर्शकलाई थाहा होला !
